चैतमा भएको विराट गोल्डकप फुटबलका लागि बचन दिएअनुसार कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले रकम निकासा नगर्ने हो भने आयोजना घाटामा जाने देखिएको छ।
तत्कालिन मुख्यमन्त्री केदार कार्कीले ‘ट्रष्ट आफैले गोल्डकप गर्ने भने २५ देखि ३० लाख प्रदेश सरकारले दिने’ मौखिक आश्वासन दिएका थिए। कार्की आफै पनि टिकट काटेर गोल्डकप हेर्दै दर्शकलाई उत्साहित पार्न खोजेका थिए।
कार्यविधि अभावमा प्रदेश सरकारले दिन्छु भनेको २५-३० लाख रकम उपलब्ध गराउने अवस्था छैन । अर्कोतिर संघीय सरकारबाटै रकम कटौती भएपछि परिषद्ले दिने भनेको ५ लाख रुपैयाँ पनि निकासा हुने छाँट नहुँदा आयोजना घाटामा जाने संकेत देखिएको हो। विराट गोल्डकप दृष्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रदेश सरकार र राखेपले रकम निकासा नगर्दा घाटा हुने स्वीकार गरे।
‘दुवै रकम आउने हो भने २/३ लाख नाफामा लग्न सकिने हाम्रो अनुमान थियो’ शाहीले भने, ‘प्रायोजक,
टिकटलगायतको आम्दानीबाट हामीले धेरै बुझाउनुपर्ने रकम बुझाइसक्यौ, प्रदेश र परिषद् बाट आएपछि बाँकी रकम बुझाउने र अडिट गरेर हिसाब सार्वजनिक गर्ने योजना मै हरिताल लागेको छ।’
यसविषयमा गंभीर कुरा गर्न ट्रष्टले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसित समय मागेको छ। विराट मात्र होइन झापा, बुढासुब्बा धरान गोल्डकपको रकम पनि रोकिएको छ।
विराट गोल्डकप २०१८ सालदेखि (पहिले महेन्द्र गोल्डकप) संचालन हुँदै आएको ऐतिहासिक गोल्डकप हो। ट्रष्टका अध्यक्ष शाहीले नयाँ आयोजना र विराट गोल्डकपलाई एकै तराजुमा जोख्न नमिल्ने तर्क गरे । उनले भने, ‘हामीलाई बचन दिएपछि आयोजनाको जमर्को गरेका हौं, यसपटक अरु कसैलाई नभनेर आफैले गोल्डकप गर्यौं, प्रदेश सरकार र परिषद् बाट धोका हुन्छ भन्ने थाहा पाएको भए अन्य विकल्प सोचिने थियो, यो संस्करणका लागि हामीसित अब कुनै विकल्प छैन ।’
विगतका संस्करणमा मुनाफा गरेर जोगाएर राखिएको झण्डै १७ लाख रुपैयाँ पनि खर्च हुने देखिएको छ। कार्यसमितिभित्र पनि यसबारे बहस र छलफलको आवश्यकता औल्याइएको छ। आयोजनामा कति खर्च भयो ? कति रकम बुझाउन बाँकी छ ? प्रायोजकमध्ये कसकसले कति रकम निकासा गरे ? अब उठाउन बाँकी कति रुपैयाँ छ लगायतका विषयमा छलफल नै भएको छैन। ‘ट्रष्टको आन्तरिक बैठक गरौं भनेर मैले महासचिवलाई भनेको छु’ अध्यक्ष शाहीले भने ।
गत वर्ष विराटनगरका मेयर नागेश कोइरालालाई संयोजक बनाएर गोल्डकप आयोजना गर्दा ९० लाख भन्दा बढी घाटा भएको थियो । यसपटक ट्रष्टले आयोजनामा धेरै नै मेहनत गरेको थियो ।
