प्रकाशपुर (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा जारी प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब, धरान, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा एपिएफ क्लब, पकली, सुनसरीलाई ४-२ को फराकिलो अन्तरले पराजित फेयरले अन्तिम चारमा स्थान सुरक्षित हो ।
फेयरको जितमा कृष्ण राईले दुई तथा सौर्य राउत र सुनिल तामाङले समान १-१ गोल गरे । पराजित एपिएफका लागि दुबै गोल मन्दिप राईले गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका फेयरका कृष्ण राई ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई ट्रफीसहित नगद रु. २,५०० प्रदान गरियो ।
प्रतियोगिता अन्तर्गत भोलिको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल आयोजक प्रकाशपुर युवा जमात, सुनसरी र इटहरी फुटबल क्लब, सुनसरी बिच हुनेछ ।
प्रकाशपुर युवा जमातको आयोजनामा जारी प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ३१ गते हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपियाँ तथा उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
