तालतलैया फुटबल क्लब (रातो), सुनसरी प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा भएको प्रिक्वार्टरफाइनल खेलमा नवयुवा क्लब, मोरङलाई ५-२ को गोलअन्तरले पराजित गर्दै तालतलैयाले अन्तिम आठमा स्थान बनाएको हो ।
तालतलैयाको जितमा बिजय उराउले दुई तथा निश कुमार श्रेष्ठ, हेमन लिम्बू र विशाल आले मगरले समान एक-एक गोल गरे । नवयुवाका लागि बिक्रम बुढाथोकी र अंंकित चौधरीले समान एक-एक गोल फर्काए ।
खेलमा दुई गरेका तालतलैयाका बिजय उराउ म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा भोलि आइतबार डाँगीहाट फुटबल क्लब, मोरङ र कुशुमे साईनिङ क्लब, केराबारी, मोरङबीच खेल हुनेछ ।
तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । फाइनल खेल भने असोज १० गते हुने आयोजकले जनाएको छ ।
