काठमाडौं । गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनले आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।

गोल्डेन पिक सिनियर ब्वाइज, विच किड्स सिनियर गल्र्स र ज्ञान निकेतन जुनियर ब्वाइजमा च्याम्पियन बने । सरस्वतीनगरस्थित घरेलु कोर्टमा भएको फाइनलमा गोल्डेन पिकले ज्ञान निकेतनलाई ६१–२५ ले पराजित गर्यो । गोल्डेन पिकका सुशिल गिरीले २० अंक जोडे । बेबिलन र एडभान्स तेश्रो भए ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा विच किड्सले एडभान्सलाई १२–१० ले हरायो । विच किड्सकी विहानी खवासले ५ स्कोर गरिन् । क्याम्ब्रिज र जगत मन्दिर तेश्रो बने । जुनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले सम्भावीलाई २१–१६ ले पाखा लगायो । ज्ञान निकेतनका सौरव परियारले ८ अंक बटुले । गोल्डेन पिक र लाइसियम मोडेल तेश्रो भए ।

गोल्डेनपिकको संयोजन र व्यवस्थापन तथा म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा गोल्डेनपिकका सुशील गिरी, सिनियर गल्र्समा विच किड्सकी रशिका तामाङ र जुनियर ब्वाइजमा ज्ञान निकेतन सौरव परियार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका काइना राई, सिनियर गल्र्समा गोल्डेनपिककी छिरिङ डोल्मा शेर्पा र जुनियर ब्वाइजमा ज्ञान निकेतन डेविड अधिकारी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा ज्ञान निकेतनका अनुप भण्डारी, सिनियर गल्र्समा एडभान्सकी पेङ्गी तामाङ र जुनियर ब्वाइजमा सम्भावीका जनक विक सर्वाधिक स्कोरकर्ता भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, माफका अध्यक्ष रविन दाहाल, गोल्डेन पिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्री, गोल्डेन पिक स्कुलका प्रधानाध्यापक छत्रमणि राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

साताव्यापी प्रतियोगिताको सिनियर ब्वाइजमा १५, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ गरी ४४ टिम सहभागी थिए । माफमा आबद्ध १६ विद्यालयका टिमले प्रतिस्पर्धा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *