नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सका सञ्चालक उत्सव सिग्देलले जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्स प्रालिबाट आफू सम्पूर्ण सञ्चालन तथा व्यवस्थापकीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा सिग्देलले आफू तत्काल प्रभावबाट दुवै संस्थाको दैनिक सञ्चालन, प्रशासन, वित्तीय निर्णय, खेलाडी तथा कर्मचारी व्यवस्थापन र अन्य सबै सञ्चालन सम्बन्धी भूमिकाबाट अलग भएको जानकारी दिएका हुन् ।
उनले अबदेखि आफ्नो नाम जनकपुर बोल्ट्स वा ड्रीम स्पोर्ट्स प्रालिको कुनै पनि आधिकारिक प्रतिनिधित्व, प्रतिबद्धता, कारोबार वा सञ्चारसँग नजोड्न अनुरोध गरेका छन् ।
साथै, अबपछि संस्थाको तर्फबाट हुने कुनै पनि निर्णय वा दायित्वप्रति आफू जिम्मेवार नहुने स्पष्ट पारेका छन् ।
सिग्देलले जनकपुर बोल्ट्ससँगको यात्रामा साथ दिने सम्पूर्ण समर्थक, खेलाडी, कर्मचारी र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
उनले उक्त यात्राबाट प्राप्त अनुभव, अवसर र सम्बन्धलाई जीवनभर मूल्यवान् रूपमा सम्झने उल्लेख गरेका छन् ।
नेपाली खेलकुदप्रतिको आफ्नो प्रतिबद्धता भने यथावत रहने उनको भनाइ रहेकाे छ ।
भविष्यमा नयाँ परियोजना र पहलमार्फत नेपाली खेलकुदको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दै उनले जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्सको आगामी यात्राका लागि सफलताको शुभकामना दिएका छन् ।
