काठमाडौं । अग्रवाल युवा मञ्च एवाईएमको आयोजनामा काठमाडौँको धन्वन्तरि इन्डोर ग्राउन्डमा बिहीबार आयोजित एवाईएम खेल महोत्सव ३.० अन्तर्गत १० ओभरको लिग चरणका विभिन्न खेलहरूमा टिप टप राइडर्स, एल्फु चार्जर्स, अल्फा वारियर्स, एमबी थन्डरबोल्ट्स, द टर्फ वारियर्स र सावित्री काञ्चनजङ्घा काठमाडौँ नाइट्सले जित हात पारेका छन् । टिप टप राइडर्सले बिहीबारका दुवै खेल जित्दै उत्कृष्ट प्रदर्शन कायम राख्यो ।
दिनको पहिलो खेलमा टिप टप राइडर्सले माइटी लायन्सलाई ५ विकेटले पराजित गर्यो । टस जितेर पहिले फिल्डिङ रोजेको टिप टपका बलर हरिओम जोशीले २ ओभरमा ३ रन दिएर ३ विकेट लिएपछि माइटी लायन्स ९.३ ओभरमा ४६ रनमै समेटियो । माइटीका लागि कप्तान अशवानी गुप्ताले १६ र कुश अग्रवालले १२ रन जोडे । जवाफमा टिप टप राइडर्सले ६ ओभरमै ५ विकेट गुमाएर ४७ रनको लक्ष्य पूरा गर्यो । जोशी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दोस्रो खेलमा एल्फु चार्जर्सले अल्फा वारियर्समाथि २७ रनको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको एल्फु चार्जर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १५३ रनको विशाल योगफल खडा गर्यो । एल्फुका लागि कप्तान जितेश तुलस्यानले २१ बलमा ५१ रनको अविजित अर्धशतकीय इनिङ्स खेले भने शिवम् तिवारीले १४ बलमा ४२ रन र पियुष अग्रवालले २१ रन जोडे । अल्फाका विशालले २ विकेट लिए । १५४ रनको लक्ष्य पछ्याएको अल्फा वारियर्सले १० ओभरमा १२६ रन मात्र बनाउन सक्यो । अलराउन्ड प्रदर्शन गरेका एल्फुका कप्तान जितेश तुलस्यान ‘प्लेयर अफ द म्याच’ बने ।
तेस्रो खेलमा टिप टप राइडर्सले फिनिक्स एक्सआई (काठमाडौँ रोयल्स) लाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो । टस जितेर ब्याटिङ गरेको फिनिक्स एक्सआई टिप टपका कप्तान कृष्ण केडियाको घातक बलिङसामु ७.३ ओभरमा २८ रनमै अलआउट भयो । फिनिक्सका अनुभव अग्रवालले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क छुन सकेनन् । कप्तान केडियाले २ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । टिप टप राइडर्सले १.४ ओभरमै २ विकेट गुमाएर २९ रनको लक्ष्य पूरा गर्यो । उत्कृष्ट बलिङ गरेका कृष्ण केडिया ‘प्लेयर अफ द म्याच’ चुनिए ।
चौथो खेलमा अल्फा वारियर्सले माइटी लायन्सलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको अल्फा वारियर्सले १० ओभरमा २ विकेट गुमाउँदै १३३ रन बनायो । टोलीका लागि चैतन्य अग्रवालले ३१ बलमा अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेले भने जतिनले ४३ र रोनेश अग्रवालले २७ रनको योगदान दिए । १३४ रनको लक्ष्य पछ्याएको माइटी लायन्स १० ओभरमा ८३ रनमा समेटियो । ३१ बलमा ६३ रन जोडेका चैतन्य अग्रवाल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
पाँचौँ खेलमा एमबी थन्डरबोल्ट्सले गरुडलाई १६ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको एमबी थन्डरबोल्ट्सले बिनाकुनै विकेटको क्षतिमा १० ओभरमा १२६ रनको मजबुत योगफल तयार पार्यो । टोलीका लागि गोविन्दले २७ बलमा अविजित ५३ रन र सुरज बंसलले ३५ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । १२७ रनको लक्ष्य पछ्याएको गरुडले १० ओभरमा ११० रन मात्र बनाउन सक्यो । ५३ रनको योगदान दिएका एमबी थन्डरबोल्ट्सका विकेटकिपर ब्याटर गोविन्द ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
छैटौँ खेलमा द टर्फ वारियर्सले सावित्री काञ्चनजङ्घा काठमाडौँ नाइट्सलाई ३ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको सावित्री काञ्चनजङ्घाले १० ओभरमा ६ विकेट गुमाउँदै ७२ रन बनाएको थियो । प्रकाश मुन्द्राले १९ र सुभम जाजुले ११ रन जोडे । टर्फ वारियर्सका कप्तान अमन वैद्य, प्रशान्त जैन, हेमाङ्ग जैन र संस्कार गोयलले १-१ विकेट लिए । ७३ रनको लक्ष्य द टर्फ वारियर्सले ८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । २ ओभरमा ५ रन दिएर १ विकेट लिएका द टर्फ वारियर्सका कप्तान अमन वैद्य ‘प्लेयर अफ द म्याच’ चुनिए ।
साँझ सम्पन्न अन्तिम खेलमा सावित्री काञ्चनजङ्घा काठमाडौँ नाइट्सले गरुडलाई ६१ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको सावित्री काञ्चनजङ्घाले १० ओभरमा ६ विकेट गुमाएर १३९ रनको विशाल योगफल बनायो । टोलीका लागि त्रिभुवन बंगले २४ बलमा ४० रन, कप्तान पवन लखोटियाले २५ रन र अनुराग अग्रवालले अविजित १४ रन जोडे । १४० रनको लक्ष्य पछ्याएको गरुड ९.२ ओभरमा ७८ रनमै समेटियो । २४ बलमा ४० रन बनाएका सावित्री काञ्चनजङ्घाका त्रिभुवन बंग खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
