इटहरी । सुनसरीका ३२ विद्यालयबीच आयोजित चौथो संस्करणको स्वर्गीय बुधरानी चेम्जोङ लिम्बु मेमोरियल अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेण्डरी स्कुलले जितेको छ ।

सोमबार भएको फाइनलमा पूर्वाञ्चलले सयपत्री बोर्डिङ स्कुल तरहरालाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा पूर्वाञ्चलले बाजी मार्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

झुम्कास्थित अल स्पोर्ट्स कलेक्सनको आयोजनामा इटहरी–५ स्थित पाथीभरा फुटसलमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लव घोषले गरेका थिए ।

बालबालिकामा खेलसम्बन्धी कौशल विकास गर्ने तथा उनीहरूको रुचिअनुसार विभिन्न खेलमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ ७ र ८ गते गरी दुई दिन सञ्चालन भएको हो । प्रतियोगिताका खेल बिहान ७ बजेदेखि सुरु भएका थिए ।

प्रतियोगिता ७ ए साइडको ढाँचामा सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र गरेको छ ।

बालबालिकालाई ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित खेलकुदमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *