काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना भएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’मा नेपालका दीपक थापाले विजयी शुरुवात गरेका छन् । नेपाल स्क्वास र्याकेट संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको खेलमा दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ को सेटमा पराजित गरे ।
दीपकले पहिलो सेट ११–७, दोश्रो बरुआले ११–९, दीपकले तेश्रो ११–४ र चौथो सेट ११–४ ले जिते । यस्तै मलेसियाका अबिनाश अनबसुले नेपालका सरोज लामालाई ३–० को सोझो सेटमा हराए । अनबुस पहिलो सेटमा ११–६, दोश्रो ११–३ र तेश्रो सेटमा ११–४ ले विजयी भए ।
यसैगरी श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई पनि ३–० को सोझो सेटमा पराजित गरेका छन् । नेभिन्दु पहिलो सेटमा ११–७, दोश्रोमा ११–५ र तेश्रो सेटमा ११–६ विजयी भएका छन् । यस्तै आज बेलुकी तीन वटा खेल हुँदैछन् । बेलुकी ५ बजे हुने खेलमा नेपालका राकेश परियार र श्रीलकांका एम. वाकिल एम. शमिल तथा बंगलादेशका हसन आबिद र भारतका अनमय रुंगटा खेल्दैछन् ।
आजै बेलुकी पौने ६ बजे तीन वटा खेल हुँदैछन् । यो समयमा नेपालका पसाङ भ्लोन र मलेसियाका नितिश मनिमारन, नेपालका नैना बहादुर मगर र बेलायतका जोन शार्प तथा नेपालका नम्बर १ खेलाडी अराहान्त केशर सिंह र बंगलादेशका अब्दुल ए. सिक्दर सयेम खेल्ने प्रतियोगिताका निर्देशक एवम् संघका महासचिव रुपकदास ताम्राकारले जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतका १६ जना खेलाडीको सहभागीता छ । आउँदो ९ गते मगंलबारसम्म चल्ने प्रतियोगिताका खेल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म तथा बेलुका ४ बजेदेखि राति ७ बजे सञ्चालन हुँदैछ । प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ । विजेताले ४००, उपविजेताले २००, सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १०० र क्वार्टरफाइनलमा पुग्ने खेलाडीलाई जनही ५० अमेरिकी डलरसहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने नेपाल स्क्वास र्याकेट संघका सचिव महेन्द्रलाल महर्जनले बताए ।
प्रतियोगिताको आज एक कार्यक्रमकाबीच उद्घाटन भएको छ । नेपाल स्क्वास र्याकेट संघका अध्यक्ष धुव्रबहादुर गुरुङको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य धनञ्जय रेग्मीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा सांसद रेग्मीले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न शुभकामना दिए । साथै उनले सरकारी प्रक्रियाका कारण प्रशिक्षक नियुक्त हुन नसकेको विषयमा आफ्नो ध्यनाकर्षण भएको र यसै हप्ता प्रशिक्षक नियुक्तिसम्बन्धी समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिए ।
संघका अध्यक्ष गुरुङले खेलको पहुँच देशभर विस्तार गर्न प्रदेशस्तरमा स्क्वास कोर्ट निर्माण गर्ने योजना समेत संघले अघि सारेको बताए । स्क्वासको पूर्वाधार विस्तारसँगै युवालाई यस खेलतर्फ आकर्षित गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य संघले लिएको उनको भनाइ छ ।
