काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काइवेललाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।
मंगलबार सम्पन्न सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक खड्काले एलआरआर ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी र उत्साहित रहेको बताए । उनले यस वर्ष साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ र व्यावसायिक प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा काम गरिने उल्लेख गरे ।
एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले सुदूरपश्चिम रोयल्स एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा सबैभन्दा ठूलो समर्थक आधार भएको, क्रिकेटप्रेमीमाझ लोकप्रिय र बलियो ब्रान्डका रूपमा स्थापित भएकाले दीर्घकालीन सहकार्य गर्ने निर्णय गरिएको बताए ।
उनले ब्रान्डिङको दृष्टिकोणले पनि यो साझेदारी दुवै पक्षका लागि लाभदायी हुने विश्वास व्यक्त गरे । एलआरआर ग्रुपले नेपाली बजारमा आफ्नो प्रिमियम विद्युतीय एसयूभी स्काइवेल नाडा अटो शोमार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।
