अमेरिकाको मेजर लिग सकर (एमएलएस) ले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोको अनुबन्धनलाई लिएर इन्टर मियामीमाथि ‘ट्याम्परिङ’ (नियम विपरीत खेलाडी तान्ने प्रयास)को आरोपमा छानबिन सुरु गरेको छ । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार क्यासेमिरोलाई बुधबार मात्रै मियामीले क्लबमा भित्र्याएको घोषणा गरेको थियो ।

३४ वर्षीय क्यासेमिरोले मियामीसँग सन् २०२७ को सिजनसम्मका लागि सम्झौता गरेका छन्, जसमा २०२९ जुनसम्म म्याद थप्न सकिने विकल्प पनि राखिएको छ । तर सम्झौता सार्वजनिक भएको केही समयमै एमएलएसले एक विज्ञप्ति जारी गर्दै क्लबमाथि लागेको ‘ट्याम्परिङ’ को आरोपबारे समीक्षा भइरहेको जानकारी दिएको हो ।

यो विवाद एमएलएसको ‘डिस्कभरी राइट्स’सँग सम्बन्धित छ । यस नियम अनुसार कुनै पनि खेलाडीलाई अनुबन्ध गर्नका लागि निश्चित क्लबलाई पहिलो प्राथमिकताको अधिकार हुन्छ । क्यासेमिरोको हकमा यस्तो अधिकार लस एन्जलस (एलए) ग्यालेक्सीसँग थियो ।

इन्टर मियामीले ग्यालेक्सीबाट उक्त अधिकार प्राप्त गरिसकेको दाबी गरे पनि लिगले यस प्रक्रियामा नियम मिचिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । लिगले भनेको छ, ‘हामी सबै सान्दर्भिक जानकारीहरू संकलन गरिरहेका छौँ र समीक्षा पूरा नभएसम्म थप टिप्पणी गर्ने छैनौं ।’

ट्रान्सफरका विषयमा इन्टर मियामी विवादमा परेको यो पहिलो पटक भने होइन । सन् २०२१ मा फ्रान्सेली मिडफिल्डर ब्लेज मटुइडीलाई अनुबन्ध गर्दा नियम उल्लंघन गरेको भन्दै एमएलएसले मियामीलाई २० लाख डलर जरिवाना गरेको थियो । मटुइडीलाई तोकिएको भन्दा बढी तलब दिएर नियम मिचेको पुष्टि भएपछि उक्त कारबाही गरिएको थियो ।

रियल म्याड्रिडबाट पाँच पटक च्याम्पियन्स लिग जितेका र म्यानचेस्टर युनाइटेडका लागि १६० खेल खेलेका क्यासेमिरो अब मियामीमा आफ्ना पुराना सहकर्मीहरू लियोनेल मेस्सी र सर्जियो रेगुइलनसँगै मैदानमा उत्रने तयारीमा छन् ।

क्लबका सह-मालिक डेभिड बेकह्यामले क्यासेमिरोको आगमनबाट खुसी व्यक्त गर्दै उनलाई एक ‘विजेता’ को संज्ञा दिएका छन् । क्यासेमिरोले पनि आफू जित हासिल गर्न र थप सिक्न सधैं प्रेरित रहने बताएका छन् । म्यानचेस्टर युनाइटेडमा रहँदा उनले एक ईएफएल कप र एक एफए कप जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *