फिफा विश्वकप २०२६ को च्याम्पियनले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ ।

फिफाले २०२६ को विश्वकपबाट नयाँ परम्पराको सुरुवात गर्दै विजेता टोलीलाई पहिलो पटक च्याम्पियनशिप औंठी पनि प्रदान गर्ने घोषणा गरेको हो ।

फिफाका अनुसार फाइनल खेल सकिएलगत्तै हुने पुरस्कार वितरण समारोहमा विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई औपचारिक औंठी प्रदान गरिनेछ ।

त्यसपछि खेलाडीहरूको औंलाको आकारअनुसार व्यक्तिगत रूपमा डिजाइन गरिएका स्थायी औंठीहरू तयार गरी विशेष समारोहमार्फत हस्तान्तरण गरिनेछ ।

फिफाले प्रतियोगिताका विजेताका लागि ३० वटा च्याम्पियनशिप औंठी सुरक्षित राखेको जनाएको छ ।

यसबाहेक १,९९६ वटा आधिकारिक रूपमा इजाजतपत्र प्राप्त व्यक्तिगत नम्बर गरिएका औंठीहरू विश्वभरका समर्थकका लागि सीमित संस्करणको संग्रहणीय वस्तुका रूपमा बिक्री गरिनेछन् ।

फिफाका अनुसार प्रत्येक औंठीको एक भागमा प्रतिष्ठित फिफा विश्वकप ट्रफी अंकित हुनेछ भने अर्को भागमा विजेता राष्ट्रको क्रेस्ट र पहिचान समावेश गरिनेछ ।

प्रत्येक औंठी व्यक्तिगत नम्बर, अनुकूलित आकार तथा प्रामाणिकताको प्रमाणपत्रसहित उपलब्ध हुनेछ । जसले यसलाई ऐतिहासिक सम्झनाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

विश्वकपको फाइनलमा न्यु जर्सी स्टेडियममा स्पेन र अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *