काठमाडौं। नेपालले १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ।
भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जनाएका छन्।
पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए। महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन्। पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारे। तीनै खेलाडीको यो ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
यो पदकसहित दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालको कुल पदक संख्या १३ स्वर्ण, १७ रजत र २० कांस्य पुगेको छ। पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ। यसअघिका ३ संस्करण नेपालमै भएको थियो।
