डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन् ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले महिला फिजिकतर्फ स्वर्ण जितेकी छन् ।

काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय सगेन्द्रले पुरुष बडीबिल्डिङको ८० केजी तौल समूहमा स्वर्ण जित्दै ओभरअल उपाधिसमेत आफ्नो नाममा लेखाए । दुई महिनाअघि भुटानमा सम्पन्न दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा समेत स्वर्ण जितेका सगेन्द्र करिब दुई दशकदेखि फिटनेस क्षेत्रमा सक्रिय छन् ।

“तर, मैले प्रोफेसनल सेटअपमा प्रशिक्षण गर्न थालेको भने डेढ वर्ष मात्र भयो । मैले हासिल गरेको उपलब्धिप्रति पक्कै खुसी छु । यो वर्षौँको मेहनतको परिणाम हो,” २१ महिनाकी छोरी युपुका पिता सगेन्द्रले भने । मिस्टर काठमाडौं बनेबापत सगेन्द्रले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । उनले ८० केजी तौल समूहको विजेताको ४० हजार रुपैयाँ पुरस्कारसमेत हात पारे । उनी सेप्टेम्बर २२ देखि २८ सम्म थाइल्यान्डमा हुने एसियन बडीबिल्डिङ च्याम्पियनसिपको तयारीमा जुटेका छन् ।

१३औँ सागमा उसुको ५६ केजी सान्डा विधामा स्वर्ण जितेकी जुनीले महिला फिजिकतर्फ शीर्ष स्थान हासिल गरिन् । सृजना घिसिङ दोस्रो तथा शान्ता पालिखेल तेस्रो भइन् । नेपाल पुलिस क्लबको उसु टोलीकी प्रशिक्षक तथा अन्तर्राष्ट्रिय उसु निर्णायकसमेत रहेकी ३५ वर्षीया जुनीले भनिन्, “मेरो मेहनतले फल पाएको छ । म आफ्ना प्रशिक्षक रुजेश शाहीप्रति आभारी छु । मलाई सुख–दुःखमा साथ दिने आफ्नो विभाग नेपाल प्रहरी र मेरो श्रीमान् प्रति पनि आभारी छु ।”

डिभाइन फिटनेसबाट सहभागी जुनीले चार वर्षअघि सक्रिय उसु खेलाडीका रूपमा आफ्नो खेलजीवनबाट संन्यास लिएकी थिइन् । पुरुष बडीबिल्डिङको ५५ केजीमा महेन्द्रबहादुर थापा मगर, ६० केजीमा सुजन थापा, ६५ केजीमा सुरब थापा, ७० केजीमा नवीन श्रेष्ठ, ७५ केजीमा सागर श्रेष्ठ, ८० केजीमा सगेन्द्र सिंह तथा ८० केजीभन्दा माथिको तौल समूहमा ललित धिमालले स्वर्ण जिते ।

पुरुष बडीबिल्डिङसँगै प्रतियोगितामा मेन्स स्पोर्ट्स फिजिक, मेन्स एथलेटिक फिजिक, महिला एथलेटिक फिजिक, महिला बडीबिल्डिङ, जुनियर तथा मास्टर्स विधामा पनि प्रतिस्पर्धा भएको थियो । मेन्स स्पोर्ट्स फिजिकको १७० सेन्टिमिटरभन्दा कम उचाइतर्फ ज्ञानेश्वर चौधरी विजेता बने भने १७० सेन्टिमिटरभन्दा माथिको समूहमा आशिम सिंह थापा पहिलो भए । मेन्स एथलेटिक फिजिकमा १७० सेन्टिमिटरभन्दा कम उचाइतर्फ सुमन राई तथा १७० सेन्टिमिटरभन्दा माथिको समूहमा शंकर गुरुङ विजेता बने । महिला बडीबिल्डिङको उपाधि रिपु घर्तीले जितिन् । जुनियरतर्फ सर्वेश सुनार पहिलो, बिबास पुरी दोस्रो र मुकेश मलिक तेस्रो भए । मास्टर्सतर्फ रमेश अधिकारी पहिलो, दीपककुमार तिम्सिना दोस्रो र नवराज डुम्रे तेस्रो भए । पुरुष बडीबिल्डिङका विभिन्न तौल समूहका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

मेन्स स्पोर्ट्स फिजिक, मेन्स एथलेटिक फिजिक, महिला एथलेटिक फिजिक, महिला बडीबिल्डिङ, जुनियर तथा मास्टर्स विधाका लागि पनि छुट्टाछुट्टै पुरस्कार राशि राखिएको थियो । प्रतियोगितामा काठमाडौं, झापा, मोरङ, पोखरा, चितवन, बुटवल, भैरहवा, इटहरी, विराटनगर, नेपालगन्ज, कञ्चनपुर, कैलाली, तनहुँ, काभ्रे, पर्सा, भक्तपुर र ललितपुरलगायत विभिन्न स्थानका खेलाडी सहभागी भएका थिए ।

प्रतियोगिता काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनले आयोजना गरेको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रतिनिधिसभा सदस्य रजनी श्रेष्ठलगायतले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *