टेन के रनका सहयोगी सम्मानित

२०८३, ७ असार आईतवार १९:४४

इलामको सूर्योदयमा भएको बुद्धवीर लामा टेन के अन्तर्राष्ट्रिय दौडका सहयोगी आइतबार सम्मानित भएका छन् । अभियान नेपालले कुपण्डोलमा कार्यक्रम आयोजना गरी सहयोगीलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा समाजसेवी निमा तेन्जिङ शेर्पा, गेजिङ शेर्पा, वाङदी शेर्पा, तारा सुब्बा, शोभा योल्मु, फुर्वा ल्हामु शेर्पा, दानु लामा, पेमा शेर्पा, पेम्बा शेर्पा, छेवाङ योल्मु तथा साहित्यकारद्वय रामचन्द्र महतो कुशवाहा र विश्वराज अधिकारी रहेका छन् ।

सो दौडमा काठमाडौंबाट सहभागी भइ विभिन्न उमेरसमूहमा पदक जितेका पुष्पलाल श्रेष्ठ, रमेश शाक्य र सीता रिमाल तथा दौडमा सहभागी भएका दीपककुमार रन्जित र बालकृष्ण डंगोललाई पनि सम्मान गरिएको थियो । उक्त दौड व्यवस्थापनमा महत्वपूर्ण सहयोग गरेका रमेश सुनार पनि २१ हजार नगदसहित सम्मानित भए ।

उनीहरुलाई एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक मधुशमशेर जंगबहादुर राणा, दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र दौड आयोजक गीतकार समेत रहेका भेट्रान धावक बुद्धवीर लामाले एक कार्यक्रमबीच सम्मान  गरे ।

बुद्धवीर लामाले सबैको साथ र सहयोगले सफलतापूर्वक दौड सम्पन्न भएको बताउदै सहयोगी सबैलाई धन्यवाद दिए । उनका अनुसार दौडमा नेपाल र भारतका धावक सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *