काठमाडौं । श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनमा १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
पहिलो दिन सिनियर गल्र्स र जुनियर ब्वाइजमा सेमिफाइनल समीकरण तयार भएको छ ।
सिनियर गल्र्समा विद्या विकासले आयोजक स्किब्सलाई ११–१०, भ्याली पब्लिकले बाल वाटिकालाई १२–८, जेबी स्कुलले हिमालयलाई ७–४ र इडेन ब्रिज एकेडेमी (इबीए) ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ९–४ ले पराजित गरे । सेमिफाइनलमा जेबी स्कुलको भेट भ्याली पब्लिकसंग हुनेछ भने इबीएले विद्या विकाससंग प्रतिस्पर्धा गर्ने छ ।
बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा महामञ्जुश्रीले इबीएलाई १०–९, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १०–९, ग्रिनफिल्डले स्किब्सलाई ८–२ र एन्जल्स हार्टले निम्सलाई १५–३ ले हराए । सेमिफाइनल महामञ्जुश्री र एन्जल्स हार्ट तथा गोल्डेनपिक र ग्रिनफिल्डबीच हुनेछ ।
सिनियर ब्वाइजमा निम्स, स्किब्स, कन्स्टिलेसन, त्रिज्योति, एन्जल्स हार्ट, न्युटन र पारामाउन्ट एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्काइलार्क र नव ज्ञानभूमिबीचको खेलले क्वाटरफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । प्रतियोगितामा ३३ विद्यालयका ४८ टिमको सहभागिता रहेको छ ।
सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ टिमले भाग लिने भएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
