काठमाडौं । आठौं पाँचपोखरी टी–२० सिन्धुपाल्चाेक जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताकाे उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेकाे छ ।

तल्लाे मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा पाँचपाेखरीले हेलम्बु गाउँपालिकालाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हाे ।

जितका लागि १२२ रनको लक्ष्य पछ्याएको पाँचपाेखरीले १९.१ ओभरमा पाँच विकेट गुमाएर १२२ रन बनाउँदै जित दर्ता गर्यो ।

पाँचपाेखरीको जितमा बुद्धिमान पाख्रिनले अविजित ५७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५६ बलमा चार चौका र एक छक्का प्रहार गरे। सार्थक धितालले २३ रनको योगदान दिए ।

हेलम्बुका सचिन लेखकले दुई विकेट लिए भने बिनोद तामाङ र दोर्जे छिरिङ श्याङ्बा ह्योल्मोले समान एक–एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको हेलम्बु गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनाएको थियो ।

हेलम्बुका शिवम तिवारीले अविजित ६८ रनको इनिङ्स खेले । उनले ५१ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए । सचिन लेखकले ३५ रन जोडे भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

पाँचपाेखरीका मनोज खड्काले चार ओभरमा मात्र १२ रन खर्चेर तीन विकेट लिए। विपिन आचार्य, विजयकुमार धिताल र सार्थक धितालले समान एक–एक विकेट हात पारे ।

गत जेठ २७ गतेबाट सुरु भएकाे प्रतियाेगितामा सिन्धुपाल्चाेक जिल्ला भित्रका ७ टाेलीकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *