काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा ९औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता–२०८३ जेठ ३० र ३१ गते काठमाडौंको हाँडीगाउँस्थित यमबुद्ध स्केटपार्कमा आयोजना हुने भएको छ ।

नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलप्रति युवा पुस्ताको आकर्षण निरन्तर बढिरहेको सन्दर्भमा यस खेलको वैज्ञानिक तथा व्यवस्थित विकासका लागि संघले स्थापना कालदेखि नै जिल्ला, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

दुईदिने प्रतियोगितामा २५० पुरुष र १५० महिला गरी कुल ४०० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा शिक्षा तथा खेलकुदमन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन अर्थात् जेठ ३० गते छनोट चरणका खेलहरू सञ्चालन हुनेछन् भने जेठ ३१ गते छनोट भएका खेलाडीहरूबीच फाइनल प्रतिस्पर्धा हुनेछ । स्केटबोर्डिङ अन्तर्गत फ्रिस्टाइल विधामा ‘बेस्ट ट्रिक’ र ‘बेस्ट रन’ स्पर्धा समावेश गरिएको छ । साथै प्रतियोगिताबाट ‘स्केटबोर्डर अफ द इयर’ समेत घोषणा गरिनेछ ।

पुरुष तथा महिला सिनियरतर्फ प्रथम हुने खेलाडीले ३० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १५ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी जुनियर पुरुष तथा महिला वर्गमा प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीय हुनेले १० हजार रुपैयाँ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नेपालमा स्केटबोर्डिङ खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वाससहित संघले ९औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता–२०८३ आयोजना गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *