विराटचौक । इटहरी उपमहानगरपालिका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा बेलका नगरपालिकालाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै इटहरी उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । निर्धारित समयमा इटहरी उपमहानगरपालिकाका लागि असिम राई र निश कुमारले गोल गरे भने बेलका नगरपालिकका लागि श्याम मुर्मु र दिशान्त रानाले गोल गरे ।
खेलको म्यान अफ दि म्याच इटहरी उपमहानगरपालिकाका असिम राई घोषित भए । उनले नगद ४ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरे ।
इटहरी उपमहानगरपालिकाले उपाधिका लागि शनिबार केराबारी गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
