काठमाडौं । काठमाडौं वडा नं. २४ को आयोजनामा संस्थापक उपमेयर नबिन्द्रराज जोशी स्मृति १९०० रेटेड मुनीको र्‍यापिड चेस प्रतिस्पर्धामा ललितपुरका आर बज्राचार्यले उत्कृष्ट खेल प्रदर्शन गरि उपाधि आफ्नो नाम गरेको छ । काठमाडौंको साँस्कृतिक भवनमा सञ्चालित ९ चरणको खेलमा ८ जीत दर्ता गर्दै भेट्रान आर बज्राचार्यले प्रथम पुरस्कार रु. ३० हजार, आकर्षक ट्रफी, मेडल हात पारेका छन् ।

दुई दिने खुल्ला र्‍यापिड चेस प्रतियोगितामा आयोजक नेपाल सहित अमेरिका, फ्रान्स, इङ्गल्याण्ड, भारत  गरि २२७ खेलाडीको सहभागीता रहेको थियो । सोन्नेवोर्न वर्जर नियम लागु भएको प्रतियोगितामा समान ८ अंक टाइब्रेक प्वाइन्टमा पछि पर्दै रुकुमका मिलन रोक्काले दोस्रो स्थान चित्त बुझाउनु परेको छ । मिलनले नगद रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् ।

कडा प्रतिस्पर्धा बिच मोरङ्ग , विराटनगरका उमेश राईले ७.५ अंक टाइब्रेकमा अगाडि रहँदै १५ हजार नगद पुरस्कार सहित तेस्रो स्थान कब्जा जमाए । समान ७.५ अंकमा चितवनका सन्तोष गौतम चौथोमा नगद रु. १० हजार र फिदिम पाँचथरका महेन्द्रकुमार साम्बाहाम्फे पाँचौमा नगद रु. ८ हजार पाए ।

२४ वडाका अध्यक्ष विनोदकुमार राजभण्डारीले असल नेताको स्मरणमा तेस्रो संस्करण चेस खेल समापन गर्दै जनार्दन श्रेष्ठ, योगेश श्रेष्ठ, रमेशवीर ममली, सुसहन गौतम र कविन्द्र शिवाकोटी सहित सबै विजेतालाई पुरस्कार वितरण गरेका छन् । वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले ३८ जना खेलाडीलाई कूल २ लाख २२ हजार पुरस्कार प्रदान गरेका छन् । 

सात प्रदेशका उत्कृष्ट, काठमाडौं, रेटेड १८, १७, १६ सय मुनि, भेट्रान, युवा वर्ष १०,१२,१४,१६,१८ र उत्कृष्ट महिला प्रथम, द्वितीय, तृतीय तथा नव प्रवेशीले समेत पुरस्कार ग्रहन गरे। साथै प्रतियोगितामा पाँच भाग्यमानी खेलाडीलाई चेस वोर्ड प्रदान गरिएको थियो । नेपाल बुद्धिचाल महासंघको मान्यता प्राप्त स्व. नबिन्द्रराज जोशीको नाममा प्रतिस्पर्धात्मक उत्साहजनक सहभागीताका बिच भब्य रुपमा सम्पन्न भएको जानकारी गर्दै अध्यक्ष विनोदकुमार राजभण्डारीले आगामी चौथो संस्करण निरन्तर जारी रहने प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगिताका प्रमुख निर्णायक अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजुको रेखदेखमा सम्पन्न तेस्रो चेस संस्करण निर्विवाद सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *