काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सञ्चालन भएको प्रथम केएमसी अध्यक्ष कप राष्ट्रिय खुला फिडे रेटिङ र्यापिड चेस प्रतियोगितामा एफएम क्षितिज भण्डारीले ६ अंकसहित एकल अग्रता लिएका छन् ।
पहिलो दिन छैटौं चरणसम्म सुरोज महर्जन ५.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् भने राजन सुवेदी ५ अंक जोडेर तेस्रो स्थानमा छन् । समान ५ अंक टाइब्रेकका आधारमा क्रमशः आशिष फूयाँल, सिएम शुश्रुत दाहाल, ज्वाला इम्बुङ, गणेशबहादुर थापा, बद्रीलाल नेपाली, कमल श्रेष्ठ, पूर्णराज खड्का, सिएम नवीन तण्डुकार, जेनिश घिमिरे र प्रेम खड्का क्रमशः शीर्ष १३ स्थानभित्र रहेका छन् ।
यस्तै समान ४.५ अंक बनाएर सुजन रानाभाट, अशोकमोहन श्रेष्ठ, गणेशमान दुवाल, धिरेन राई, साजन पाण्डे, विजेश राजकर्णिकार, सविनचन्द्र धिमिरे र राजन पुरी रोमञ्चक होडमा छन् । यसबिच काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसिको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा बागमती प्रदेश संसद दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको उदघाटन समारोहमा वडा अध्यक्ष रामकुमार केसिले यस प्रतियोगिता मार्फत उच्चस्तरीय प्रतिस्पर्धा र फिडे रेटिङको अवसरका कारण नेपाली बुद्धिचाल क्षेत्रमा विशेष आकर्षण सिर्जना गरेको बताएका छन् । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा कार्यक्रम निर्देशक इन्द्रकुमार बस्नेतले राष्ट्रिय तथा फिडे रेटिङ प्राप्त खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको जनाए ।
