विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा आजदेखि चौथो सुन्दरहरैँचा मेयर गोल्डकप सुरु भएको छ ।
उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी भएको छ। बेलबारीले पथरी शनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बेलबारीका लागि विल्सन गिरी र अश्विन गौतमले एक–एक गोल गरे भने पथरी शनिश्चरेका सउरे राउतले एक गोल फर्काएका थिए ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली ले गर्नुभएको थियो। शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले ग्रासरुट फुटबलको विकासबिना समग्र खेलकुद क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो। विद्यालय तहबाटै ग्रासरुट कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
मन्त्री पराजुलीले खेलाडीहरू खेलकै भरमा जीवनयापन गर्न सक्ने अवस्था अझै सिर्जना हुन नसकेको उल्लेख गर्दै राज्यले खेलाडीलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं ले नगरको समग्र खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।
प्रतियोगिताअन्तर्गत भोलिको दोस्रो क्वार्टरफाइनल खेल आयोजक सुन्दरहरैँचा नगरपालिका र उदयपुरको बेलका नगरपालिका बीच हुनेछ ।
प्रतियोगिताको आयोजना सुन्दरहरैँचा नगर खेलकुद विकास समितिले गरेको हो । प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
