धनकुटा । १८औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा शनिबार भएको फाइनल खेलमा आयोजक धनकुटालाई सडनडेथमा ५-४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र थपिएको समयमा दुवै तर्फ गोल हुन नसके पछि खेल सिधै टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि दुबै तर्फ ४—४ गोल भए पछि खेलको निर्णय सडनडेथबाट गरिएको हो । सडनडेथमा बेलबारीले बाजी मार्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै बेलबारीले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता आयोजक धनकुटाले नगद ३ लाख रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ।

ट्राइब्रेकरमा आयोजक धनकुटाका विवेक गुरुङ, फेमी, ओलायमी र प्रिसोले गोल गरेका थिए भने राज बाजी र पृथ्वी चौधरी गोल गर्न असफल रहे । बेलबारीका सोलुमान किङ, शिशिर लेखी, मुटु, विशाल थिङ र श्याम मुर्मुले गोल गरे भने विवेक पौडेलको प्रहार सफल हुन सकेन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक टोलीका पदम भट्टराई घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै विधागततर्फ बेलबारीका अजय परियार उत्कृष्ट गोलकिपर, महेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक तथा सोलुमान किङ सर्वाधिक गोलकर्ता घोषित भए । त्यस्तै आयोजक धनकुटाका राज बाजी उत्कृष्ट मिडफिल्डर तथा प्रतिक थापा मगर उदयीमान खेलाडी घोषित भए । विधागततर्फ उत्कृष्ट घोषित खेलाडीहरूले जनही ११ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता वि.सं. २०५५ सालदेखि सुरु भएको हो । केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि प्रतियोगिता नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *