दुई सय मिटरमा निरज र दिनालाई स्वर्ण

२०८३, १४ जेष्ठ बिहीबार २१:०७

काठमाडौं । काठमाडौंकाद्वय निरज शाह र दिना गोपालीले १६ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत एथलेटिक्समा बिहीबार स्वर्ण जितेका छन् । दुई सय मिटर दौडको छात्रमा निरज तथा छात्रामा दिना पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निरजले २२.८७ सेकेन्ड तथा दिनाले २७.६० सेकेन्डमा निर्धारित दूरी पूरा गरे । ४ सय मिटर दौडको छात्रमा काठमाडौंका निरज (५२.४० सेकेन्ड) तथा छात्रामा काठमाडौंकै अनिषा थारु (६४.४५ सेकेन्ड) पहिलो भए ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भइरहेको प्रतियोगिताको ८ सय मिटर दौडको छात्रमा काठमाडौंका हस्त सुनार (२ मिनेट ०३.६ सेकेन्ड) तथा छात्रामा काठमाडौंकै भगवती खड्का (२ मिनेट ३५.५ सेकेन्ड) ले स्वर्ण जिते ।

सटपुटको छात्रमा काठमाडौंका महेन्द्र केसी (११.८० मिटर) तथा छात्रामा दोलखाकी अप्सरा श्रेष्ठ (८.५१ मिटर) शीर्ष स्थानमा रहे । ज्याभ्लिन थ्रोको छात्रमा रितिक बस्याल (५०.५९ मिटर) तथा छात्रामा सिर्जना श्रेष्ठ (२९.४३ मिटर) पहिलो बने । दुवै धादिङका हुन् ।

१ हजार ५ सय मिटर दौडको छात्रमा काठमाडौंका हस्त सुनार (४ मिनेट १७.९ सेकेन्ड) तथा छात्रामा काठमाडौंकी भगवती खड्का (५ मिनेट १९.६ सेकेन्ड) पहिलो भए । लङजम्पको छात्रमा चितवनका विशाल गुरुङ (६.५३ मिटर) तथा छात्रामा काठमाडौंकी अनिशा थारु (५.०६ मिटर) पहिलो भए । ४ गुणा १ सय मिटर रिलेको छात्र -छात्रा दुवैमा काठमाडौं पहिलो भयो ।

उसुमा काठमाडौं ६ स्वर्ण, १ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ४–४ स्वर्ण, रजत र कांस्य जितेको ललितपुर दोश्रो तथा १ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ भक्तपुर तेश्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण धादिङले हात पार्यो ।

थाउलोको पुरुषमा एनेक्स महर्जन तथा महिलामा विपना तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवै काठमाडौंका हुन् । सान्सौंको पुरुषमा भक्तपुरका रोशन थापा मगर तथा महिलामा ललितपुरकी रचना सिलवाल उत्कृष्ट खेलाडी चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *