विराटनगर । विराटनगर महानगरपालिका मेयरकप अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १६ फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरको बैजनाथपुर खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १३ लाई ५–३ गोलले पराजित गर्दै वडा नम्बर १६ ले फाइनलको यात्रा तय गरेको हो ।
वडा नम्बर १६ का लागि नविन राना मगर र कबिन्द्र चोङमाङले दुई तथा अभि रामले एक गोल गरे । वडा नम्बर १३ का लागि रोशन राईले दुई तथा युनिस श्रेष्ठले एक गोल गरे । खेलको म्यान अफ दि म्याच वडा नम्बर १६ का कबिन्द्र चोङमाङ चुनिए । उनले नगद रु. १,१११ प्राप्त गरे ।
अब वडा नम्बर १६ ले उपाधिका लागि वडा नम्बर १९ सँग प्रतिष्पर्धा गर्नेछ । वडा नम्बर १९ ले पहिलो सेमिफाइनलमा वडा नम्बर ११ लाई ७–३ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
फाइनल खेल आइतबार हुनेछ । विराटनगर महानगरपालिका वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा जारी प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता रहेको छ ।
विजेता टोलीले नगद ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
