काठमाडौं । नेपाल भलिवल संघको आयोजनामा आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म काठमाडौंमा ‘काभा महिला भलिवल च्याम्पियनसिप लिग-२०८३’ आयोजना हुने भएको छ । संघले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको ट्रफी अनावरण गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

राष्ट्रिय खेल भलिवलको विकास र विस्तारका लागि आयोजना हुन लागेको यस प्रतियोगितामा सेन्ट्रल एसियाका ८ राष्ट्रहरूको सहभागिता रहने निश्चित भएको छ । आयोजक नेपालसहित भारत, इरान, किर्गिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र कजाकिस्तानले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता एफआइभीबी वल्ड र्‍याङ्किङ  अन्तर्गत रहेकाले नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।

च्याम्पियनसिपमा उत्कृष्ट नतिजा ल्याउन सकेको खण्डमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीको विश्व वरीयतामा उल्लेख्य सुधार हुने अपेक्षा संघले राखेको छ ।  प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘हिमालय स्पोर्ट्स’ले गर्नेछ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान नेपाल भलिबल संघले गरेको छ ।  प्रतियोगिताका लागि नेपाल सरकारले १ करोड र काठमाडौं महानगरपालिकाले ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएका छन् ।

नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र महासचिव रोशन श्रेष्ठले प्रतियोगिता सुरु हुन अझै दुई हप्ता बाँकी रहेकाले सामान्य तयारीका कामहरू समयमै पूरा गरिने बताएका छन् । अन्तराष्ट्रिय स्तरको प्रतियोगितालाई भव्य बनाउन र नेपाली भलिवलको प्रचारप्रसारमा सहयोग पुर्‍याउन संघले सबैलाई आग्रह पनि गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *