अन्तर्राष्ट्रिय रग्बी रेफ्री प्रेम कोइराला एसियन रग्बीको डेभलपमेन्ट प्यानलमा पर्न सफल भएका छन् । डेभलपमेन्ट प्यानलमा पर्न सफल उनी पहिलो नेपाली रेफ्री बनेका छन् ।

उनले सन् २०२३ मा विश्व रग्बीबाट प्रदान गरिने “वर्ल्ड लेभल–२ डेभलपमेन्ट म्याच अफिसियल” रेफ्री सर्टिफिकेट प्राप्त गर्दै उक्त उपलब्धि हासिल गर्ने पहिलो नेपाली रग्बी रेफ्री बन्न सफल भए ।

एसिया रग्बी रेफ्री कमिटीले प्रत्येक वर्ष सदस्य राष्ट्रका उत्कृष्ट रेफ्रीहरूलाई अनुभव, प्रदर्शन, मूल्याङ्कन र शारीरिक फिटनेसका आधारमा छनोट गर्ने गर्दछ । यही प्रक्रियाअन्तर्गत प्रेम कोइराला सन् २०२६ मा “डेभलपमेन्ट प्यानल” मा पर्न सफल भएका हुन् ।

यो उपलब्धि पाए सँगै प्रेमले अब एसिया रग्बी अन्तर्गतका आधिकारिक प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्न सक्नेछन् । साथै अब उनले आफ्नै खर्चमा अन्तर्राष्ट्रिय रेफ्री बन्नु पर्नेछैन ।

प्रेम कोइरालाले यो उपलब्धिलाई आफ्नो लामो समयदेखिको धैर्यता भनेका छन् । उनले भने, “मैले यसको लागि धेरै समय धैर्य भएर आफ्नो भूमिका निभाइरहे । त्यसको मूल्याङ्कन भएको ठानेको छु ।”

यसअघि प्रेमले सन् २०२३ मा विश्व रग्बीबाट प्रदान गरिने ‘वर्ल्ड लेभल–२ डेभलपमेन्ट म्याच अफिसियल’ रेफ्री सर्टिफिकेट प्राप्त गरेका थिए । उनी यही वैशाख ३१ गते उज्बेकिस्तानमा आयोजना हुने सेन्ट्रल तथा दक्षिण एसियाली रग्बी प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह जाँदैछन् । प्रेम भन्छन्, “उज्बेकिस्तानको प्रदर्शन डेभलपमेन्टमा पर्ने आधार भनिएको थियो । तर त्यहाँ जानु अगाडि नै प्यानलमा परेको सूचना पाएँ । यो भन्दा खुसीको कुरा मेरो लागि के हुन्छ ।”

डेभलपमेन्ट प्यानलमा गरेपछिको बढुवा भनेको ट्यालेन्ट आइडेन्टीफिकेसन प्यानल ( टीआइपी) र त्यसपछि इलाइट प्यानलको रेफ्री बन्नु हुन्छ । प्रेमले आगामी लक्ष्य त्यसैमा केन्द्रित हुने पनि बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *