तेस्रो संस्करणको इलाम गोल्डकप आजदेखि सुरु भएको छ । आज भएको उद्घाटन खेलमा पथरी–११, मोरङ विजयी भएको छ ।
पथरी–११ ले उद्घाटन खेलमा घरेलु टोली रेडहर्ष फुटबल क्लब, इलामलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुबै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । खेल सुरु भएको तेस्रो मिनेटमै सन्देश खड्काले गोल गर्दै रेडहर्षलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा अग्रता जोगाएको रेडहर्ष अन्तिम समयमा सम्हालिन सकेन । पथरी–११ का लागि सौर्य राउतले बराबरी गोल फर्काए ।
उद्घाटन खेलको म्यान अफ दी म्याच पथरी–११ का आशिष लावती घोषित भए । उनले नगद ८ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो दिनको खेल फिदिम स्पोर्टिङ क्लब र झापाको रोलिङ क्लब धुलाबारीबीच हुने आयोजक जनाएको छ ।
वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र विदेशका गरी ८ टिम सहभागी छन । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख र उपविजेताले ५ लाख पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
