काठमाडौं । नेपाल ट्रायथलन संघले २०औँ एसियाली खेलकुदमा सहभागिता जनाउन जापान जाने ट्रायथलनका दुई प्राविधिक अफिसियललाई विदाइ गरेको छ ।
जापानको आइची–नागोयामा आयोजना हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र पुष्परत्न वज्राचार्य ट्रायथलनका प्राविधिक अफिसियलका रूपमा सहभागी हुनेछन् ।
नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दुवैलाई शुभकामनासहित विदाइ गर्दै एसियाडजस्तो ठूलो खेलकुद मेलामा प्राविधिक अफिसियलको भूमिका र जिम्मेवारी पनि महत्वपूर्ण हुने बताए ।
यसपटकको एसियाली खेलकुदमा नेपाली ट्रायथलन खेलाडीले भने सहभागिता जनाउने छैनन् । अध्यक्ष श्रेष्ठका अनुसार ओलम्पिक विवादका कारण ट्रायथलनलाई यसपटक एसियाडमा समावेश नगरिएको हो ।
‘ओलम्पिक विवादका कारण ट्रायथलनलाई एसियाडमा समावेश गरिएन । यसले ट्रायथलन खेलाडीलाई अन्याय भएको छ,’ उनले दुःखेसो पोखे ।
आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा ट्रायथलनका खेल सेप्टेम्बर २० र २१ तारिखमा हुनेछ ।
