मधेश प्रदेश आगामी संस्करणको जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ ।

पीएम कपको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मधेश जय ट्रफीका लागि छनोट भएको हो ।

बुधबार वीरगन्जमा भएको खेलमा मधेशले पुलिसलाई ४ विकेटले हराएको हो ।

पुलिसले दिएको १३१ रनको लक्ष्य मधेशले २४.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मधेशका लागि अरनिको यादवले अविजित ६५ रन बनाए भने रुपेश सिंह पनि २७ रनमा अविजित रहे । ६५-२ को अवस्थाबाट ७७-६ को अवस्थामा पुगेपछि अरनिको र रुपेश मिलेर ५३ रनको साझेदारी गर्दै जित दिलाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ४०.३ ओभरमा १३० रनमा अलआउट भएको थियो । कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए ।

शंकर रानाले २७, राशिद खानले १८ तथा दिनेश खरेल र गुल्शन झाले समान १५ रन बनाए । मधेशका लागि पवन सर्राफ, रन्जित कुमार र आशिक बैठाले ३-३ विकेट लिँदा अरनिको यादवले १ विकेट लिए ।

प्रतियोगितामा पाँचौं जित निकालेको मधेशले ९ खेलमा ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।  पुलिस भने शीर्ष ६ मा अटाएको छ र जय ट्रफी खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *