काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१० नियुक्त भएकी छन् ।
आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई ‘फेस’ अफ कर्पोरेट टि-१० घोषणा गरिएको हो ।
खुशी डंगोलले सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी हुन्। उनले अगस्ट २०२३ मा नेपालको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन् ।
कुवेतविरुद्धको डेब्यु खेलमा उनले पहिलो बलमै विकेट लिएर विश्वकै चौथो तथा नेपालको पहिलो महिला खेलाडीको रूपमा इतिहास रचेकी थिइन् । उनले २०१९ को प्रधानमन्त्री कपमा एक रन पनि नदिई ५ विकेट लिएर ऐतिहासिक कीर्तिमान रचेकी थिईन् । हालसम्म उनले १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।
कार्यक्रममा बोल्दै खुशी डंगोलले आफू ‘फेस’ अफ कर्पोरेट टि-१० बन्न पाउँदा निकै उत्साहित र गर्व महसुस भएको बताइन्। उनले यस्तो प्लेटफर्मले महिला खेलाडीहरूलाई थप अवसर प्रदान गर्ने र क्रिकेटमा महिलाको सहभागिता अझ सशक्त बन्ने विश्वास व्यक्त गरिन् ।
उनले कर्पोरेट टि-१० जस्ता लिगहरूले कार्यालयमा व्यस्त रहने कर्मचारीहरूलाई पनि खेलमार्फत रमाइलो र रिफ्रेस हुने अवसर प्रदान गर्ने बताईन् । उनले यसले कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेछ भन्ने विश्वास लिएकी छन् ।
साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई शुभकामना दिईन । उक्त कार्यक्रममा काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.का निर्देशक ज्योति भण्डारीले खुशी डंगोललाई ‘फेस’ अफ कर्पोरेट टि-१० को रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे। उनले भने, “खुशीजस्तो प्रतिभाशाली खेलाडी हाम्रो लिगसँग जोडिनु हाम्रो लागि गर्वको विषय हो ।
उनको उपस्थितिले लिगमा अझ आकर्षण, ऊर्जा र प्रेरणा थप्नेछ ।” उनले भविष्यमा महिला र पुरुष दुवैको समान सहभागितालाई प्राथमिकता दिने योजना रहेको पनि बताए । कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ ।
