हिमालयन जाभा नेसनल बास्केटबल लिग (एतजेएनबीएल) २०२६ अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोएलले प्लेबक्स एरेनामाथि रोमाञ्चक जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा रोएलले प्लेबक्सलाई ७६–७३ ले पराजित गरेको हो ।

रोएलले पहिलो क्वाटरमा १६–१२ र दोस्रो क्वाटरमा १८–१४ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ३४–२६ को अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा दुवैले २०–२० अंक जोडे । चौथो क्वाटरमा प्लेबक्सले उत्कृष्ट प्रदर्शन गर्दै २७–२२ ले आफ्नो पक्षमा पारेपनि पर्याप्त भएन । रोएलका अनिल अर्मजा पुनले सर्वाधिक २१ अंक स्कोर गरे । उनी म्यान अफ दि म्याच घोषित भए । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार बेहोरेको छ ।

सुरुवाती दुई खेल जितेर लयमा रहेको आर्मीलाई शनिबार राती सम्पन्न खेलमा टाइम्स इन्टरनेसनल कलेजले ८०–६८ ले पराजित गरेको छ । आर्मीले पहिलो क्वाटरमा १५–१४ को झिनो अग्रता बनाएको थियो । दोस्रो क्वाटर टाइम्सले २३–१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ३७–२९ को अग्रता बनायो । त्यसपछि तेस्रो क्वाटरमा दुवै टिमले २१–२१ अंक स्कोर गरे । चौथो क्वाटरमा पनि लय कायम राख्दै टाइम्सले २२–१८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । टाइम्सका लागि मनिस केसीले सर्वाधिक २२ अंक स्कोर गरे । उनी म्यान अफ दि म्याच घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *