विराटनगर । मिल्स माध्यमिक विद्यालयको हिरक जयन्ती कार्यक्रमअन्तर्गत आयोजित अन्तरविद्यालयस्तरीय ३ किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ सेसेहाङ लावती र छात्रातर्फ नुरी खातुन प्रथम भएका छन् ।

विराटनगर–१६ रानीस्थित विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा छात्रतर्फ विराटनगर–१३ को पूर्वाञ्चल विद्या सदन बोर्डिङका सेसेहाङ लावतीले निर्धारित दूरी सबैभन्दा छिटो पार गर्दै उपाधि जिते ।

आयोजक विद्यालय मिल्स माविकै सागर सरबरिया दोस्रो र धीरज सरबरिया तेस्रो भए । गोदावरी बोर्डिङ स्कुलका सुजित यादव चौथो तथा बाल माविका राकेश यादव पाँचौं स्थानमा रहे ।

छात्रातर्फ विद्या विकास आधारभूत विद्यालयकी नुरी खातुन प्रथम भइन् । विराटनगर–१२ स्थित देवकोटा पब्लिक सेकेण्डरी स्कुलकी वेविशा राजवंशी दोस्रो र मिल्स माविकी आशियाना प्रविण तेस्रो स्थानमा रहिन् । भगवती विद्या मन्दिरकी नाजिया प्रविण चौथो तथा सोही विद्यालयकी हिरामणि ठाकुर पाँचौं हुन सफल भइन् ।

संस्थागत र सामुदायिक गरी १६ विद्यालयका ७१ छात्र र ४९ छात्रा गरी कुल १२० जनाको सहभागिता रहेको प्रतियोगिता संयोजक विष्णु डंगोलले जानकारी दिए ।

विजेता विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, विराटनगर–१६ का अध्यक्ष उद्धव भुजेल, विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावती, व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर राना, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतले अविर लगाएर नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले यस्ता प्रतिस्पर्धाले विद्यार्थीको शारीरिक क्षमता मात्र नभई आत्मविश्वास र अनुशासन अभिवृद्धिमा टेवा पुग्ने बताए । विद्यालय–विद्यालयबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धा विस्तार गर्न यस्ता गतिविधि प्रभावकारी हुने उनको भनाइ थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक टंकप्रसाद न्यौपानेका अनुसार हिरक जयन्ती समारोहअन्तर्गत दौड प्रतियोगितासँगै रक्तदान, पूर्वविद्यार्थी मिलन, शिक्षक सम्मान, छात्रवृत्ति वितरण, विज्ञान–कला–सफ्टवेयर तथा स्वास्थ्य प्रदर्शनी र मूल समारोहलगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

फागुन ८ गते शुक्रबार शिक्षासेवी मणिकला सुब्बाको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना हुनेछ । सुब्बा २००९ सालकी शिक्षिका हुन् । प्रमुख अतिथि सुब्बालाई विद्यालयले रथारोहणसमेत गराउने कार्यक्रम राखेको प्रअ लावतीले जानकारी दिए । उनी १५ वर्षकै उमेरमा सो विद्यालयको शिक्षिका भएकी थिइन् । प्रमुख अतिथि सुब्बालाई मिल्स माविकै विद्यार्थीले निर्माण गरेको रोवोर्टले स्वागत गर्ने तयारी गरिएको छ ।

हिरक जयन्तीलाई समुदायसँग जोड्ने र विद्यालयको शैक्षिक तथा सामाजिक योगदानलाई उजागर गर्ने उद्देश्यसहित कार्यक्रमहरू अघि बढाइएको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *