चर्च ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गर्दै जावलाखेल युथ क्लबले पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा जावलाखेलले सुरुदेखि नै दबाब बनाउँदै सहज जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जावलाखेलले तीनै गोल दोस्रो हाफमा गर्यो । खेलको ४८औं मिनेटमा जावलाखेलले अग्रता लियो । चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले डाइभ गर्दै बल समात्ने क्रममा हातबाट बल फुत्काएपछि धर्मेन्द्र कुँवरले कुनै गल्ती नगरी अवसरको सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ८८औं मिनेटमा जमैकन खेलाडी निकोलस ह्यामिल्टनले जावलाखेलको अग्रता दोब्बर पारे । उनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोलरक्षक दीप कार्कीलाई बीट गर्दै सुन्दर गोल गरे । दोस्रो गोल भएको दुई मिनेटमै सुजन गुरुङले डी–एरियाको नजिकैबाट प्रहार गरेको बल सिधै जाली चुमेपछि जावलाखेलले खेल ३–० ले आफ्नो पक्षमा पार्यो ।
खेलको म्यान अफ दि म्याच जावलाखेलका निकोलस ह्यामिल्टन घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । भोली (सोमबार) मनाङ मर्स्याङदी क्लब र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडकाबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।
फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । साथै, सर्वाधिक गोलकर्तालाई पनि नगद २५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ ।
