काठमाडौं । एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने सेमिफाइनल चरणमा पराजित दुई टोलीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार दिइनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता प्रत्येकलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ ।
प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टिम (एनआरटी), त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियाले, एपीएफ फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरी १० टोलीको सहभागिता रहनेछ ।
दर्शकका लागि टिकट दर क्वार्टरफाइनलसम्म १०० रुपैयाँ र सेमिफाइनल चरणका लागि २०० रुपैयाँ तोकिएको छ । प्रतियोगिताको अनुमानित कुल बजेट १ करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
