औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिका आयोजनामा जारी सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा आइतबार वडा नम्बर १(बी) विजयी भएको छ ।
गढी खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा श्री सरस्वती सेकेण्डरी स्कुल, गढी, सुनसरीलाई २-० ले पाखा लगाउँदै वडा नम्बर १(बी) ले अन्तिम चारमा स्थान बनाएको हो ।
वडा नम्बर १(बी) को जितमा जोनी सिंह चौधरी र मोहम्म्द ओसिमले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच वडा नम्बर १(बी) का जोनी सिंह चौधरी घोषित भए । उनले पुरस्कार बापत् नगद एक हजार रुपैयाँसहित मेडल पाए । उनलाई पराजित सरस्वती सेकेण्डरी स्कुलका प्रधानाध्यापक रामकुमार चौधरीले पुरस्कार हस्तान्तरण गरे ।
आयोजकका अनुसार सोमबार (भोलि) वडा नम्बर १(ए) र गढी भेट्रान्स, गढी, सुनसरीबीच चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ । गढी युथ स्पोर्टिङ क्लबको समन्वयमा जारी प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १ गते हुनेछ ।
