अल-नासरले साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अल-खोलुदको घरेलु मैदानमा भएको खेलमा अल-नासर ३-० ले विजयी भएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, मोहम्मद सिमाकान र किङ्स्ली कोमानले गोल गरे ।
रोनाल्डोले खेलको ४७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको छ मिनेटपछि फेलिक्सकै कर्नरबाट सिमाकानले हेडर गोल गरे ।
पछि अल–खोलुदका कप्तान हातान बाहब्री रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो । खेलको अन्त्यतिर कोमानले पेनाल्टी गोल गरे ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको अल-नासरको १८ खेलबाट ४३ अंक भएको छ । शीर्ष स्थानमा रहेको अल-हिलालभन्दा नासर ३ अंकले पछाडि छ । पराजित अल-खलुद १५ अंकसहित १४औं स्थानमा छ ।
