विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत शुक्रबार भएको फुटबल खेलमा छात्रातर्फ अर्किड कलेज र रेडस्टार कलेज तथा छात्रतर्फ शिक्षा सन्देश कलेज र रेटस्टार कले फाइनलमा प्रवेश गरेका छन् ।
शहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा अर्किड कलेजले जेभिर्यस कलेजलाई पेनाल्टी सुट आउटमा २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेल्को प्लेयर अफ म्याच अर्किडकी सुस्मिता बस्नेत घोषित भइन् ।
दोस्रो खेलमा रेडस्टार कलेजले कान्तिपुर कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच सलिजा राईले २ गोल गरिन भने सुहाना राईले २ गोल तथा स्मृती राई र निशा लिम्बुले १–१ गरिन् ।
छात्रतर्फको पहिलोे खेलमा शिक्षा सन्देश कलेजले कान्तिपुर कलेजलाई सडन डेथमा ६–५ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेले पछि खेल पेनाल्टीसुट आउटमा गएको थियो । पेनाल्टीसुट आउटमा पनि ४–४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो । खेलको प्लेयर अफ द म्याच शिक्षा सन्देशका गोलकिपर मनिष भुजेल घोषित भए ।
दोस्रो खेलमा रेडस्टार कलेजले भानु कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ द म्याच सौगात राई र सदानन्द मास्कीले १–१ गोल गरे ।
छात्र र छात्रा दुबै तर्फको फाइनल खेल भोलि शनिबार हुनेछ ।
