रामधुनी । सुनसरीको रामधुनीमा सम्पन्न दोस्रो कुमरखत च्यालेञ्ज कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान स्पोर्टस क्लब, धरानले जितेको छ ।
शनिबार कुमरखत सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा हरैँचा स्पोर्टस क्लब, हरैँचालाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै धरानले उपाधि चुमेको हो ।
उपाधिसँगै धरानले ५१ हजार नगदसहित ट्रफी जितेको छ । उपविजेता हरैँचाले ३१ हजारसहित ट्रफी जितेको छ ।
निर्धारित समयमा दुबै टोलीले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । निर्धारित समयमा धरानका लागि तिलक लावतीले दुबै गोल गरे भने हरैँचाका लागि दुबै गोल पेरिस केसीले गरे ।
फाइनल खेलको म्यान अफ दि म्याच हरैँचाका अरूण साह घोषित भए । उनले नगद एक हजारसहित ट्रफि प्राप्त गरे । धरानका बिपुल मगर उत्कृष्ट गोलरक्षक, मन्दिप राई उत्कृष्ट मिडफिल्डर, तिलक लावती सार्वधिक गोलकर्ता भए । हरैँचाका राम खनाल उत्कृष्ट डिफेन्डर र पेरिस केसी उत्कृष्ट फरवार्ड घोषित भए । जुडी फुटबल क्लब रामधुनी निलोका प्रबेश गिरी उदयीमान खेलाडी चुनिए । विधागत तर्फ उत्कृष्ट सबैले जनही दुई हजारसहित ट्रफी पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरानका मिजाश लिम्बु घोषित भए । उनले नगद तीन हजारसहित ट्रफी प्राप्त गरे ।
विजयी टिमका खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालिकाका वडा नं ७ का वडा अध्यक्ष केशब गौतम लगायतले पुरस्कार प्रदान गरे । जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको थियो ।
