काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ ।

गोरखाका अमित खत्रीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कृष्णप्रसाद कार्कीको एकल इजालासले एन्फालाई उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य अगाडि नबढाउन सोमबार आदेश दिएको हो ।

एन्फाले २८ माघमा निर्वाचन गर्ने तयारी गरेको थियो । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तहगत निर्वाचन पूरा गरेर मात्र एन्फा निर्वाचन गर्न निर्देशन दिएको थियो । तर राखेपको निर्देशन अवज्ञा गर्दै एन्फाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि खत्री अदालत पुगेका थिए ।

अदालतको आदेशअनुसार खत्रीले उठाएका विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने सम्बन्धमा छलफल गर्न राखेपलाई सूचना दिइनेछ । सो प्रयोजनका लागि नियमानुसार सूचना प्रकाशित गरी दुवै पक्षलाई उपस्थित गराइने अदालतले जनाएको छ ।

खत्रीबाट लिखित जवाफ प्राप्त भएपछि अन्तरिम आदेश मागसम्बन्धी विषयमा छलफल गरी अन्तिम आदेश गरिने पनि अदालतले स्पष्ट पारेको छ । साथै, सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *