आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता बढाउने मौका गुमाएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनल लिभरपुलसँग गोलरहित बराबरीमा रोकिएको छ ।
बुधवार म्यानचेस्टर सिटी ब्राइटनसँग १–१ ले बराबरीमा रोकिएपछि आर्सनललाई शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउने अवसर पाएको थियो । तर साविक विजेता लिभरपुलले आर्सनललाई गोल गर्न दिएन ।
खेलभरि आर्सनलले लिभरपुलका गोलकिपर एलिसनलाई खासै चुनौती दिन सकेन। दोस्रो हाफको इन्जुरी समयसम्म आर्सनलले कुनै पनि प्रहार गर्न सकेन । लिभरपुल पनि आक्रमणमा प्रभावशाली देखिएन ।
घाइते भएका ह्युगो एकिटिके नखेल्दा उनीहरूको आक्रमण कमजोर देखियो । पहिलो हाफमा कोनोर ब्राड्लीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । ब्राड्ली घुँडामा चोट लागेपछि मैदान बाहिरिए ।
यो नतिजासँगै आर्सनलको लगातार सात घरेलु जितको श्रृंखला टुटेको छ । तर पनि आर्सनल सिटी र एस्टन भिल्लाभन्दा ६ अंकले अघि छ । लिभरपुल भने चौथो स्थानमा रहँदै आर्सनलभन्दा १४ अंक पछाडि छ ।
