इटहरी । तेस्रो इन्टर–कलेज टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा विश्व आदर्श कलेजले शुस्मा गोदावरी कलेज, इटहरीलाई फराकिलो १९३ रनको अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको विश्व आदर्श कलेजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३३ रनको चुनौतीपूर्ण स्कोर तयार गर्‍यो ।

विश्व आदर्शका लागि सकुशल श्रेष्ठले ६२ बलमा १२० रनको विस्फोटक शतकीय इनिङ्स खेले । त्यस्तै, रोशन खत्रीले ३९ रन बनाए भने आकाश सराफले १४ रनको योगदान दिए । बलिङतर्फ शुस्मा गोदावरी कलेजका रोशन पुरीले २ विकेट तथा सागर डोटेलले १ विकेट लिए ।

२३४ रनको लक्ष्य पछ्याउने क्रममा शुस्मा गोदावरी कलेज १३ ओभर २ बलमै सबै विकेट गुमाउँदै जम्मा ४० रनमै समेटियो । शुस्मा गोदावरीका तर्फबाट कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उत्कृष्ट प्रदर्शनका कारण सकुशल श्रेष्ठ खेलको म्यान अफ द म्याच घोषित भए ।

आजकै दोस्रो खेलमा पुर्वाञ्चल इन्जिनियरिङ कलेज, धरान र महेन्द्र मोरङ कलेज, विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा महेन्द्र मोरङ कलेजले पुर्वाञ्चल कलेजलाई ६ विकेटले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुर्वाञ्चल कलेज १७ ओभरमै सबै विकेट गुमाउँदै १२२ रनमा सीमित भयो । पुर्वाञ्चलका तर्फबाट कासिम सन्जेलले ४९ रन बनाउँदा निशल कर्णाले ११ रन जोडे ।

बलिङतर्फ महेन्द्र मोरङ कलेजका अखिलेश कोइरालाले ३ विकेट लिए भने प्रतीक पोखरेल, सन्दीप ढकाल र अटल शाहले समान २–२ विकेट तथा सागर मोचीले १ विकेट लिए ।

१२३ रनको लक्ष्य पछ्याएको महेन्द्र मोरङ कलेजले १६.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । महेन्द्र मोरङका लागि अटल शाहले ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने सागर मोचीले ३५ रन र बियुष बस्नेतले १० रनको योगदान दिए ।

पुर्वाञ्चल कलेजका बलरहरूमा कासिम सन्जेल, अजित अटल, रुपेश भट्टराई र ज्ञानेन्द्रप्रसाद यादवले समान १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच महेन्द्र मोरङ कलेजका अटल शाह घोषित भए ।

पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेजको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा सञ्चालन भइरहेको हो । कलेजस्तरका क्रिकेट प्रतिभा उजागर गर्दै खेलकुदमार्फत शैक्षिक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक इटहरी आदर्श जायन्ट्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *