इटहरी (सुनसरी) । तेस्रो इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुवै खेलमा विश्व आदर्श कलेज ‘बी’ इटहरी र आस्था कलेज दमक विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा विश्व आदर्श कलेज ‘बी’ इटहरीले जनता बहुमुखी कलेज इटहरीलाई पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको जनता बहुमुखी कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनायो। जनताका लागि उज्वल श्रेष्ठले ३०, आभास गेलालले २७, सुमन पौडेल र निमा तामाङले समान २५–२५ रनको योगदान दिए ।
बलिङतर्फ विश्व आदर्शका पल सिग्देल र चिरञ्जीवी शाहले समान ३–३ विकेट लिए ।
१५० रनको लक्ष्य पछ्याएको विश्व आदर्श कलेज ‘बी’ १७ ओभरमै सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो । यससँगै जनता बहुमुखी कलेज ४६ रनले पराजित भयो ।
आजकै दोस्रो खेलमा पुर्वाञ्चल इन्जिनियरिङ कलेज धरान र आस्था कलेज दमकबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पुर्वाञ्चल कलेज १६ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ७८ रनमा सीमित भयो ।
पुर्वाञ्चलका लागि अजित अटलले १७, बिबस भण्डारीले १३ र कासी सन्जेलले १२ रन बनाए । बलिङतर्फ आस्था कलेजका सुगम बुढाथोकीले ३ विकेट लिए भने छबिलाल खड्का, रञ्जन धमला र सौजन्य घिमिरेले समान २–२ विकेट तथा आशिष रानाले १ विकेट लिए ।
७९ रनको सामान्य लक्ष्य आस्था कलेजले ११ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
आस्थाका सन्तोष गजमेरले १७, भुपाल दंगालले १५ र हिमान्शु गिरीले ११ रन जोडेन । बलिङतर्फ पुर्वाञ्चल इन्जिनियरिङका अजित अटलले २ विकेट तथा कासी सन्जेल र अनुपम भुजेलले समान १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच आस्था कलेजका सुगम बुढाथोकी घोषित भए ।
यससँगै विश्व आदर्श कलेज ‘ए’ इटहरी, कान्तिपुर कलेज विराटनगर, नमुना कलेज इटहरी र आस्था कलेज दमक सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलहरू भोलि हुनेछन् ।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेजको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा सञ्चालन भइरहेको छ । प्रतियोगिताले कोशी प्रदेशका कलेजबीच क्रिकेट प्रतिभा उजागर गर्दै खेलकुदमार्फत शैक्षिक क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जायन्ट्सले जनाएको छ ।
