रेडियन्ट दोहोरो उपाधि नजिक

२०८२, १० मंसिर मंगलवार १९:४१

काठमाडौं । आयोजक रेडियन्ट पब्लिकको दुई टोली ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । रेडियन्ट पब्लिकको सिनियर ब्वाइज र सिनियर गर्ल्स टोली फाइनलमा पुग्यो ।

स्युचाटारस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको सेमिफाइनलमा रेडियन्ट पब्लिकले बेबी एन्जललाई ४९-२४ ले पराजित गर्दै पुष्पसदनसंग फाइनल भेट पक्का गर्यो।

रेडियन्टको जितमा सुगम राना मगरले १२ अंक योगदान गरे । अर्को सेमिफाइनलमा सम्राट लामाको १८ अंक सहयोगमा पुष्पसदनले केभीसीलाई ४६-३२ ले हरायो।

सिनियर गर्ल्समा रेडियन्टले नवीन ज्योतिलाई १५-१३ ले पाखा लगायो । रेडियन्टकी सेजल रोक्काले ८ स्कोर गरिन् । रेडियन्टले उपाधिका लागि स्वर्णिमसंग खेल्ने छ ।

स्वर्णिमले केभीसीलाई ३२-१५ ले पन्छायो । स्वर्णिमकी नसाना श्रेष्ठले ८ अंक जोडिन् । जुनियर ब्वाइजमा ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले उपाधि भिडन्त पक्का गरे ।

ग्रिनफिल्डले केभीसीलाई २६-७ तथा इबीएले विस्डमलाई २९-१६ ले पराजित गरे । ग्रिनफिल्डका किस्मत ढकालले १० तथा इबीएका प्रसिक श्रेष्ठले १४ स्कोर गरे । फाइनल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *