मोरङको रतुवामाई नगरपालिका सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा इलाम चुलाचुलीको देउराली फुटबल क्लब विजयी भएको छ ।
श्री सौँठा माविको खेल मैदानमा शनिबार भएको तेस्रो क्वार्टरफाइनलमा झापा गौरिगञ्जको लालिमा फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै देउराली सेमिफाइनलमा प्रवेश गरेको हो ।
देउरालीको जितमा ताङसाङ नेम्वाङ, इगेन केरुङ, रोहन गुरुङ र निसान राईले १-१ गोल गरे । लालिमाका लागि अर्पण श्रेष्ठले गोल फर्काए ।
खेलको म्यान अफ द म्याच देउरालीका रोहन गुरुङ भए । उनलाई एक हजार एक सय नगदसहित मेडल प्रदान गरियो ।
प्रतियोगितामा भोलि मोरङ मिक्लाजुङको टाडी स्पोर्टिङ क्लब र मोरङ बेलबारीको बेलबारी फुटबल क्लबबीच चौथो क्वार्टरफाइनल खेल हुनेछ । युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका- ६ को आयोजना तथा नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिकाको सहयोगमा जारी प्रतियोगितामा कुल आठ टोलीको सहभागिता छ ।
असोज १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक रतुवामाई नगरपालिका- १० मा अवस्थित राष्ट्रनिर्माण सेकेन्डरी स्कुल रहेको छ भने प्रायोजकमा काजी स्टोरका सञ्चालक चोगेन्द्रबहादुर खड्का छन् ।
