मोरङको रतुवामाई नगरपालिकामा सौँठामा जारी बडा दशैं गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा उर्लाबारी फुटबल क्लब विजयी भएको छ । 

श्री सौँठा माविको खेल मैदानमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा आयोजक युवा तथा खेलकुद समिति रतुवामाई–६ लाई टाइब्रेकरमा ४–१ ले हराउँदै उर्लाबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछी खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको म्यान अफ द म्याच उर्लाबारीका गोलरक्षक योगेश धिमाल भए । उनलाई एक हजार एक सय नगदसहित मेडल प्रदान गरियो ।

प्रतियोगिताको तेस्रो खेल शनिबार इलाम चुलाचुलीको देउराली फुटबल क्लब र झापाको गौरिगञ्ज गाउँपालिकाबीच हुनेछ । युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका- ६ को आयोजना तथा नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिकाको सहयोगमा जारी प्रतियोगितामा कुल आठ टोलीको सहभागिता छ ।

असोज १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक रतुवामाई नगरपालिका- १० मा अवस्थित राष्ट्रनिर्माण सेकेन्डरी स्कुल रहेको छ भने प्रायोजकमा काजी स्टोरका सञ्चालक चोगेन्द्रबहादुर खड्का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *