मोरङको बुढीगंगा गाउँपालिकामा आजदेखि पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०८२ शुरु भएको छ ।

शुक्रबार बुढीगंगा गाउँपालिकामा वडा नं ५ स्थित सुक्चर खेल मैदानमा भएको उद्घाटन खेलमा झापा दमकको चुलाचुली स्पोर्टिङ क्लबले उदयपुरको मलिथम एफ.सीलाई २-१ ले पराजित गरेको छ ।

जितसँगै चुलाचुली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चुलाचुलीको जितमा युवराज थापा र आकाश राईले गोल गरे । मलिथमका लागि मिङ्सो लिम्बुले गोल गरे ।

खेलको पहिलो हाफको पाँचौं मिनेटमा युवराजको गोलमा चुलाचुलीले अग्रता लिएको थियो । तर, चुलाचुलीले अग्रता कायम राख्न सकेन । पहिलो हाफको २८औं मिनेटमा मलिथमका मिङ्सोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफ शुरु भएको १५औं मिनेटमा आकाशले गोल थप्दा चुलाचुली २-१ ले विजयी भयो । खेलको म्यान अफ दि म्याच चुलाचुलीका युवराज थापा चुनिए । उनले नगद २१०० रुपैयाँ सहित ट्रफी प्राप्त गरे । उनलाई आयोजक नव युवा क्लबका सल्लाहकार सुरेश कुमार भगतले पुरस्कार प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो क्वाटरफाइनल खेल पूर्वाञ्चल युनाइटेड क्लब हरैँचा, मोरङ र विराटनगर सिटी एफ.सी, मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले गरेका थिए । उद्घाटन समहारोहमा बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छदार, बुढीगंगा गाउँपालिकाका वडा नं ६ का वडा अध्यक्ष दिलिप कुमार गच्छदार, कोशी खेलकुद बिकास बोर्डका सदस्य प्रदिप भगत, बुढीगंगा गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष देबेन्द्र दाहाल लगायतको उपस्थिती रहेको थियो ।

नव युवा क्लबको आयोजना जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको मुख्य प्रायोजक बुढीगंगा गाउँपालिका रहेको छ । बुढीगंगा गाउँपालिकाका वडा नं ६ को संयोजनमा शुरु भएको प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल असोज १८ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *