काठमाडौं । नयाँ तथा आधुनिक फुटबल रङ्गशाला निर्माण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सूर्यविनायक नगरपालिकासँग रङ्गशाला निर्माणका लागि सैद्धान्तिक सहमति भएको छ ।
एन्फाका अनुसार सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ मा अवस्थित करिब २०० रोपनी जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराइने भएको छ । यसबारे नगरपालिका सरकारले राष्ट्रिय खेलकुद परिषद्लाई समेत सिफारिस गरेको बताइएको छ ।
वर्तमान एन्फा कार्यसमितिको बैठकले नयाँ तथा आधुनिक रङ्गशाला निर्माण गर्ने निर्णय गरी एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग पटक-पटकको भेटघाट गरि अनुरोध गरेका थिए ।
यस क्रममा प्रधानमन्त्री ओलीले नयाँ रङ्गशाला निर्माणमा विशेष चासो देखाउँदै सार्वजनिक रूपमा झण्डै ५० हजार दर्शक क्षमता भएको नयाँ रङ्गशाला निर्माण गर्ने घोषणा पनि गरेका थिए ।
नेपाल सरकार र प्रधानमन्त्रीको विशेष पहलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको संस्थागत समन्वय, सहयोगमा र एन्फाको प्रस्तावमा नगरपालिकाले सहमति जनाएको बताइएको छ ।
बुधबार नगरपालिकाका प्रमुख बासु थापाले सिफारिसपत्र एन्फा महासचिव किरण राईलाई हस्तान्तरण समेत गरेका छन् । निर्माण गरिने रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आधुनिक फुटबल स्टेडियमको रूपमा विकास गर्ने योजना रहेको छ ।
