काठमाडौँ । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र जेबी स्कुलले १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।
बीएनएले रिलायन्स पब्लिकलाई २३-१८ ले पराजित गर्यो । बीएनएको जितमा दिपक तामाङले ९ अंक योगदान गरे । गौरव ओलीको ११ अंक सहयोगमा जेबी स्कुलले भद्रकालीलाई २७-२१ ले हरायो । सोही स्पर्धामा गोल्डेनपिकले आयोजक ग्रिनल्यान्डलाई २९-२४ ले पाखा लगायो। गोल्डेनपिकका आज्ञराज राईले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ५३-४७, जेबी स्कुलले फेरिल्यान्डलाई ३७-३१, पारमाउन्ट एकेडेमीले सरस्वतीलाई ५०-४१ र हेम्सले एचएचसीएलाई ५३-४१ ले पन्छाए । गोल्डेनपिकका प्रिसम केसीले १२, जेबीका नरेश बोहराले १५, पारामाउन्टका मनोज गुरुङले १६ र हेम्सका जोनस कुइकेलले १२ अंक जोडे ।
सिनियर गल्समा ल्यान्डमार्कले नव दीक्षितलाई २३-१७ तथा फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २४-२१ ले पराजित गरे । ल्यान्डमार्ककी प्रतिक्षा राई र फेरिल्यान्डकी प्रतिमा कार्कीले समान ७-७स्कोर गरे ।
