काठमाडौं । स्वर्णिम र ज्ञान निकेतन तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई १८-११ ले पराजित गर्यो । स्वर्णिमको जितमा प्रतिक महर्जनले ८ अंक योगदान गरे ।

महेन्द्र प्याकुरेलको १६ अंक सहयोगमा ज्ञान निकेतनले भ्याली भ्युलाई ५४-४० ले हरायो । विजेता दुवै भेट क्वाटरफाइनलमा हुनेछ ।

सिनियर ब्वाइजमै पिपुल्स एकेडेमीले आनन्दकुटीलाई ३२-१२, कश्यपले न्यु जेनिथलाई २५-२०, पुष्पसदनले मनास्लुलाई ५६-४४, राराहिलले बेबीलनलाई ३७-२१, ब्राइट होराइजनले युरो स्कुललाई ५२-३६ र कन्स्टिलेसनले एनआईसी एकेडेमीलाई ४०-२० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

अन्य क्वाटरफाइनल पिपुल्स र पुष्पसदन, कश्यप र कन्स्टिलेसन तथा राराहिल र ब्राइट होराइजनबीच हुनेछ । सिनियर गर्ल्सको क्वाटरफाइनलमा रिब्सले जेसिस, स्वर्णिमले रेडियन्ट पब्लिक, केसीसीएस र राराहिल तथा ग्यालेक्सीले युरो स्कुलको सामना गर्ने छन् ।

दुवै समूहको क्वाटरफाइनल आइतबार हुनेछ । आइतबारै न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु-११, यु-१३ र यु-१६ उमेरसमूहको सेमिफाइनल पनि खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *