आठौं रिएले कप साउन २४ गतेदेखि

२०८२, १४ श्रावण मंगलवार २०:३२

भक्तपुर । ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ हुने भएको छ । युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) बाट सुरु हुने भएको हो ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ । यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा यु-१०, यु-१२ र यु-१४ उमेर समूह समावेश गरिएको छ ।

लिगमा काठमाडौं उपत्यका तथा वरपरका ब्वाइज र गर्ल्स दुवैले सहभागिता जनाउने छन् । इच्छुक खेलाडीले आफ्नो उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

यसको लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ। एफसी रिएले जापानको गैर-नाफामूलक संस्था रियल वर्ल्डअन्तर्गत सञ्चालित परियोजनामध्ये एक हो । क्लबले नेपालमा बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई फुटबलमार्फत सशक्त बनाउने लक्ष्य लिएको छ ।

यस क्लबको पुरुष टिमले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा सहभागिता जनाउँदै आएको छ। क्लबको महिला टिमले सन् २०२८ मा आयोजना हुने पहिलो एन्फा महिला लिग छनोटमा सहभागिता जनाउने तयारी गरिरहेको छ ।

यसले यूथ डेभलपमेन्ट लिगअन्तर्गत हरेक वर्ष दुईपटक लिग सञ्चालन गर्दै आएको छ । जसमा समर लिग र विन्टर लिगको रूपमा आयोजना गरिन्छ ।

समर लिगमा व्यक्तिगत रूपमा दर्ता भएका बालबालिकाहरूलाई क्लबले अन्तरिक ड्राफ्टमार्फत टिम बनाइ लिग सञ्चालन गर्छ । विन्टर लिगमा भने विभिन्न फुटबल एकेडेमी, विद्यालय तथा टिमहरूबीच प्रतिस्पर्धा गराइन्छ ।

यस परियोजनाले नेपालमा उपेक्षित बाल तथा ग्रासरुट फुटबल क्षेत्रलाई बलियो बनाउने कार्यमा उल्लेखनीय योगदान दिँदै आएको छ। नेपाल राष्ट्रिय पुरुष फुटबल टिम कप्तान किरण चेम्जोङ, ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता राष्ट्रिय खेलाडीहरूले यस लिगलाई सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *